दार्जीलिङ तकदा क्यान्टोमेन्ट निवासी सामदेन तामङ अनि पाण्डामको जवाहर बस्ती मुन्तिर लिम्बू गाउँ निवासी दिवाकर थापाको मर्मान्तिक निधनको खबरले सबैलाई स्तब्ध तुल्याएको छ।
16 अगस्त। शनिवार। मध्य युरोप स्लोभाकियाको टर्नाभा जिल्ला अन्तर्गत पर्ने सुरभ्से गाउँमा सामदेन, दिवाकरसितै अन्य दुइ साथीहरू पिकनिक खेल्न गएका थिए। यसैबिच, त्यहाँको भा.. खोलामा नुहाउन जाँदा अचानक खोलामा डुबेर यस्तो दुखान्तक घटना घटेको सामदेनका बाबा बताउँछन्। चारजनामध्ये दुइजना भाग्यले बाँचेको अनि घटनास्थलबाटै दिवाकरको शव भेटिएको अनि निकै दुरीमा सामदेनको मृतदेह उद्धार भएको बताइएको छ।
सामदेन र दिवाकरको मृतदेहलाई स्वदेश ल्याउनतर्फ राज्यसभा सांसद एवम् दार्जीलिङ वेलफेयर सोसाइटीका प्रमुख हर्षवर्द्धन शृंगला र उनको समूहले कार्य शुरू गरिसकेको बताइएको छ।
उल्लेखनीय छ, स्लोभाकियामा दिवाकर एउटा कार मेनिफेक्चरिङ कम्पनीमा काम गर्थे भने सामदेन फूड प्रोसेसिङ इन्डस्ट्रीमा काम गर्थे।
दार्जीलिङको पाण्डाम जवाहर बस्ती मुन्तिर पर्ने लिम्बू गाउँमा यतिबेला शोकको लहर छाएको छ।
28 वर्ष मात्र पुगेका दिवाकर थापाको परिवारमा बाबु दीपक थापा र दिदी दिव्या थापा मात्र छन्। आमा खसेको वर्षदिन पनि पुगेको थिएन। छोराको अचानक मर्मान्तिक निधनले घरमा रहेका बाबु र दिदीमाथि कति ठूलो वज्र खस्यो होला, कल्पना गर्नै नसकिने भइदियो।
आमा खसेपछि बाबुको स्याहार-सुसार गर्ने घरमा कोही नहुँदा दिल्लीमा काम गर्दैगरेकी दिदीले काम छोड़ेर गाउँ फर्किइन् अनि बाबुसित उनी बस्दै आइरहेकी छन्।
घरमा बाबु काम गर्न सक्तैनन्। दिदीले बाबुलाई स्याहार्दै आइरहेकी छन्, जसले गर्दा दिवाकर नै परिवारका मूल खाँबो थिए। उनकै कमाइमा घर चल्दै आइरहेको थियो। परिवारमा सम्पूर्ण दायित्व दिवाकरको काँधमा थियो तर बिचैमा निर्दयी कालले दिवाकरलाई हरेर लग्यो।
16 अगस्त शनिवार हामी पिकनिक खेल्न गएको भनेर त्यही जग्गाबाट भीडियो कल गरेको अनि पाँच मिनट अघि मात्र त्यहाँको भीडियो भाइले पठाएको थियो भन्दै एक वर्षमै आमा-छोरा दुवै बिते, दिदी भक्कानिएर रोइरहेकी थिइन्।
दिवाकरसितै काम गर्ने बिजनबारीका एकजना साथी केही दिन अघि छुट्टीमा घर आएका थिए। उनी 21 अगस्तको दिन फर्किने भएका थिए। दिवाकरका लागि पठाइदिनलाई भनेर उनका बाबु र दिदीले उनलाई मनपर्ने खानेकुरा लगायत मासु सुकाएर अचारसमेत हालिदिएका थिए तर दैवको लीला, जसलाई भनेर उनीहरूले यति जोहो गरे अब उनै कहिल्यै नआउने गरी धे...रै टाढ़ा गइसकेका छन्।
दिवाकर एकदमै हँसिला व्यक्ति थिए, सबैलाई सहयोग गर्ने हृदयका थिए, गाउँका मानिसहरू बताउँछन्।
यसभन्दा अघि दिवाकर एक वर्ष दुबईमा काम गरी घर फर्किएका थिए। उनले गाउँमै ट्याक्सी कुदाउने कामसमेत गरे। तर, ड्राइभरी कामले केही नहुने भएपछि उनी एक वर्षअघि स्लोभाकिया लागेका थिए।
दिवाकरका बाबाले पहिले ग्लेनेरिजमा काम गर्थे तर पछि उनको लिगामेन्ट फाटेको कारण उनी धेरै समयसम्म उभिन नसक्ने भएपछि दिदी-भाइले आफूहरू काम गर्ने भन्दै बाबुलाई काम छोड़ाएको दिवाकरकी दिदी दिव्या बताउँछिन्।
आइतवार दिवाकरले यो संसार छोड़िगएको खबर परिवारले पायो। चारैतिर शून्यता छायो। एउटा नढल्नुपर्ने घरको मूल खाँबो असमयमै ढल्यो।
घर-परिवार, बाबु-दिदी अनि दिवाकरले देखेका सपनाहरू सबै छताछुल्ल भए। सबै चकनाचुर भइदिए।
......................................
यस्तै अर्को वज्र खस्यो दार्जीलिङको तकदा क्यान्टोमेन्टमा.....
33 वर्षीय सामदेन तामङ घरका कान्छा छोरा थिए। उनी खूबै अनुशासित थिए। 12औं श्रेणीसम्म पढ़ाइ गरेपछि फूड प्रोडक्सनमा डिप्लोमा गरेका सामदेन यसभन्दा अघि कतार गएका थिए। त्यहाँ तीन-चार वर्ष काम गरेपछि उनी घर फर्की आए अनि एक वर्ष अघि मात्र उनी स्लोभाकिया गएका थिए।
सामदेनका बाबु मनदोर्जे तामङ भारतीय सेनाका भूतपूर्व सैनिक हुन् भने आमा गृहिणी हुन्। यसैगरी, उनका ठूल्दाजु सिंगापुरमा काम गर्दैछन् भने माइला दाजु दार्जीलिङमै सिभिल इञ्जीनियर छन्।
आइतवार अपरान्ह सामदेन अब यस संसारमा छैनन् भन्ने खबर आयो...विश्वासै गर्न नसकिने खबरले हामी मर्माहित बनेका छौं, सामदेनका काका रविन तामङ भन्छन्।
केही दिनअघि मात्र सामदेनले तीन वर्षकी काकाकी छोरी अर्थात् आफ्नी बहिनीलाई ब्याग पठाइदिएका थिए। जोजोले पठाइदिएको ब्याग च्यापेर खुशी हुँदै सानी बहिनीले थ्यांक यु जोजो भनी म्यासेज पठाएकी थिई, काका भावुक बन्दै केही दिनअघिको सम्झना सुनाउँछन्।
दिवाकर र सामदेनको शव कहिले आइपुग्ने हो थाहा छैन तर सांसद हर्षवर्द्धन शृंगलाले यसतर्फ कार्य गरिरहेको कुरा शोकित परिवारहरूले गरिरहेका छन्।
अर्कोतिर, शृंगलासित यसबारे बुझ्दा उनले यस कार्यका लागि आफू स्वयम साथै टीमले कार्य गरिरहेको बताएका छन्।
शोकित परिवारहरूले आफ्ना छोराका पार्थिव शरीर स्वदेश ल्याउनमा सहयोग पुऱ्याइदिने सांसद शृंगलाप्रति अपील गरेका छन् भने उनको सहयोगमा शवलाई घरसम्मै ल्याइदिने व्यवस्थातर्फ पनि पहल गरिइनेछ भन्ने उनीहरूले अपेक्षा साँचेका छन्।
सामदेन र दिवाकरको पार्थिव शरीरलाई चाँड़ै स्वदेश ल्याइपुऱ्याइयोस्। उनीहरूको अन्तिम संस्कार आफ्नै भूमिमा हुन सकोस्। सबैले यही आशा गरेका छन्।


Leave a Comment